मैले विभिन्न किसिमका लोकगीत गाएँ । तिनै गीतका आधारमा मलाई ‘स्टेज किङ’ देखि ‘सेक्सी गायक’ सम्म भनियो ।
वि.सं. ०१८ सालमा रेडियो नेपालको अंग्रेजी कार्यक्रममा गार्गी गुरुङले कुमार बस्नेत नेपालको ‘किङ अफ फोक सङ’ भनिन् । त्यहाँदेखि मलाई ‘किङ’ भन्न थालियो । नारायणगोपाल सांगीतिक क्षेत्रमा नआउँदैको कुरा हो यो । उनी त बल्ल ०२० सालमा निस्किएका हुन् ।
पछि मैले स्टेजमा गाउन थालेसँगै ‘स्टेज किङ’ भनियो । किङ, स्टेज किङ जे भने पनि त्यसमा मलाई कुनै मोह थिएन । अझ कतिपयले त अनेक थोक भन्न थाले । समाजकै कुरा टिप्दै ठेट पाराका शब्द राखेर मैले गाएका धेरै लोकगीत सुपरहिट भए । तिनै गीतका आधारमा मलाई कतिपयले यसले भल्गर गीत गाउँछ भनेर सेक्सी गायकसम्म भने । त्यसरी भन्नेहरुलाई मैले मुख थुन्न सक्ने कुरा पनि भएन ।
त्यस्तै आक्षेप खेप्ने गीत हो ‘छोरीभन्दा आमा तरुनी’ । यो गीत ०४८/४९ सालतिर गाएको हुँ । प्रजातन्त्र आइसकेपछिको समयमा यति त गाउन मिल्ला नि भनेर गाएको थिएँ । किनकि व्यङ्ग्य र घोचपेच त जसले पनि गरिरहेको देखिन्थ्यो । यो पनि सामाजिक व्यङ्ग्य नै थियो ।
कुनै पनि गीत तयार हुन थिम चाहिन्छ । यो गीत बन्नुको पछाडि पनि रमाइलो प्रसंग छ ।
बिहेको निम्तोले गीत फुरायो
म मनमौजी घुम्ने क्रममा धादिङको बेनीघाट गएको थिएँ । त्यहाँबाट काठमाडौं फर्कँदै गर्दा साँझ पर्न लागेको थियो । मलेखुमा आउँदा स्थानीय युवाहरुले गुरुम्म घेरे ।
त्यहाँ एउटा बिहे रहेछ । उनीहरुले भन्न थाले, ‘दाइ, हिँड्नुस् बिहेमा जाऔं ।’
मलाई घर फर्कन पनि हतार थियो । फेरि कसको बिहे हो, निम्तो बिनाको बिहेमा जाने कुरा पनि भएन ।
मैले टार्न खोजेँ, ‘ए भाइ, कर नगर । पाँच बजिसक्यो, म काठमाडौं पुग्नुपर्ने मान्छे कहाँ अब बिहेमा जानु !’
त्यही बेलामा सिँगारपटार गरेर आएका दिदीबहिनीहरु देखिए । उनीहरु सायद बिहे घरतिरै हिँडेका थिए ।
एकजना भाइले फ्याट्ट भने, ‘छोरीभन्दा आमा चाहिँ तरुनी भएर आएछन्, हेर त त्यहाँ ।’
मलाई त्यो भनाइले तरंगित पार्यो । कलाकार मान्छेले कलाकै हिसाबले हेरेँ ।
मैले भाइहरुलाई भनेँ, ‘गजब लाइन आयो । तिमीहरु यसलाई गीत बनाउन अरु शब्द कलेक्सन गर न ।’
त्यसपछि ठिटाहरुले मिहिनेत गर्न थाले । एउटा-एउटा शब्द बटुल्न थाले । त्यत्तिकैमा उनीहरुको सहयोगमा मैले गीत तयार पारेँ । संगीत संयोजक शुभबहादुर सुनाम दाइले गीतलाई सिंगार्नुसम्म सिँगारे ।
महिलाहरुले जुलुसै निकाले
यो गीत त्यसबेला निकै चल्यो । रेडियोमा बजिरहन्थ्यो । तर, गीत रुचाउने र विरोध गर्नेहरुको दुईथरी हुल देखियो । महिलाहरु यो गीत बज्नै हुँदैन भनेर प्रदर्शनमा समेत उत्रिए ।
०४९ सालको कुरा हो, सुर्खेतमा एकातिर महिलाहरुको र अर्कातिर पुरुषहरुको जुलुस निस्किएछ । महिलाहरुले ‘छोरीभन्दा आमा तरुनी गीत’ गीत भड्किलो भएको भन्दै विरोध गरे । पुरुषहरु चाहिँ यो गीत बज्न पाउनुपर्छ भन्ने ।
सुर्खेतमा रेडियो नेपालको क्षेत्रीय कार्यालय त्यसबेला नै थियो । रेडियोमा गीत बजिरहने भएकोले महिलाहरुले कार्यालयमै पुगेर त्यो गीत तुरुन्त ब्यान्ड गर्न माग गरे ।
मैले त त्यसमा केही भन्ने कुरा थिएन । एक पटक गाइसकेपछि राम्रो र नराम्रो श्रोताले भन्ने कुरा हो ।
जुलुस सधैं हुने कुरा भएन । बिस्तारै साम्य भयो । तर, पछि सिंहदरबारमै आएर रेडियो नेपालमा कसैले यो गीतको विरुद्धमा उजुरी गरेछ । करिब तीन वर्ष गीत ब्यान्ड नै भयो । पछि के भयो, फेरि आफैं बज्न थाल्यो ।
त्यति बेला राम थापाको ‘कति बस्छौ माइतीको कौशीमा’, मैले नै गाएको ‘लप्सीको गेडा चुसेर’ भन्ने गीतहरुले पनि त्यस्तो अवरोध खेपेका थिए ।
महिलाहरु विरोध गर्ने, ठिटीहरु नाच्ने
यो गीतको दुःखलाग्दो कुरा पनि छ, डरलाग्दो कुरा पनि छ ।
भैरहवामा एउटा कलेजको उद्घाटन कार्यक्रममा मलाई गीत गाउन बोलाइएको थियो । त्यस बेला प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराई पनि कार्यक्रममा जानुभएको थियो ।
रिक्सा चढेर कार्यक्रम स्थलतर्फ जाँदै थिएँ । बाटोमा १५-१६ जना बहिनीहरु आएर रिक्सा घेरे ।
एक जनाले सोधिन्, ‘तपाईं कुमार बस्नेत होइन ?’
‘हो’ भनेँ ।
मलाई त थप्पड हान्न आएछन् कि भन्ने लागेको थियो ।
उनीहरुले हात चलाएनन्, फेरि पनि बोले मात्र, ‘तपाईंलाई एउटा कुरा भन्छौं ।’
‘के कुरा हो, भन न ।’
उनीहरुले हाकाहाकी कुरा राखे, ‘हामीले भनेको गीत तपाईंले गाउने भए हामी कार्यक्रममा आउँछौं, होइन भने आउँदैनौं ।’
उनीहरुले सुन्न चाहेको गीत त्यही ‘छोरीभन्दा आमा तरुनी’ भन्ने थियो । मलाई अचम्म लाग्यो ।
यस्तै घटना दार्जीलिङको कालिम्पोङमा भएको थियो । त्यहाँको कार्यक्रममा यही गीत गाउँदा उमेर ढल्केका महिलाहरुको मुख बिग्रेको हुँदो हो, तर, केटीहरु नाचेर उधुमै गरे । नेपालमा पनि त्यस्तो होला भन्ने थाहा थिएन ।
बहिनीहरुको प्रस्तावमा मैले ‘हुन्छ, म त्यो गीत पक्कै गाउँछु’ भनेँ । साँझपख कार्यक्रममा अरु गीतका साथै यो गीत पनि गाएँ । ठिटाठिटीहरु खुब नाचे । माथि बाल्कोनीबाट पनि मान्छेहरु उफ्रीपाफ्री गर्न थाले । त्यो माहौल देखेर प्रधानमन्त्री भट्टराई समेत दंग पर्नुभयो ।
कुमार बस्नेतकाे गीत –
आमाभन्दा छोरी तरुनी
ठीकै भन्यौ नि
हैन भाइ गल्ती भयो, उल्टो पर्यो नि !
अनि के हो त ?
छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन झिल्के डाइवरले ।
ऐना हेरी-हेरीकन कैले कपाल कोर्छे
कैले बस्छे टोलाएर कैले दंग पर्छे
कैले हेर्छे झ्यालबाट, कैले भित्र पस्छे
आँखीभौं र परेलामा अनेक रंग घस्छे ।
खसम बाहिर गएको दुई महिना भा’छ
जैले हेर्यो बाहिर घुम्छे, छैन घरमा बास
उनलाई भयो छटपटी हामीलाई भोक-प्यास
राम्री-राम्री तरुनीको सबलाई लाग्छ आश ।
छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन झिल्के डाइवरले ।
No comments:
Post a Comment